श्रीन्यूज ओके रिपोर्टर
भैरहवा–बुटवलको न्यु होराइजन मावि ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’को बिजेता बनेको छ ।
मंगलबार सिद्धार्थ रंगशाला भैरहवामा भएको फाइनल खेलमा देबदह बुद्ध माविलाई ५ विकेटले पराजित गर्दै होराइजनले उपाधि संगै ५० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्दा उपविजेता रहेको देवदह बुद्धले नगद २५ हजारसहित ट्रफी पाएको छ ।
फाइनल खेलमा जितका लागि पाएको ७१ रनको लक्ष्य न्यु होराइजनले १९ ओभर १ बलमा ५ विकेटको नोक्सानीमा ७६ रन बनाउँदै जित हासिल गरेको हो।
उसको जितमा समीरजंग सिंह ठकुरीले २० (नटआउट) र अनिश भट्टराईले १९ रनको योगदान गरे । बलिङमा देवदह बुद्धका कृष केसीले २ तथा रोहन कुँवर र आयुष विकले १–१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको देवदह बुद्धले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ७० रनको सामान्य योगफल बनाएको थियो ।
उसलाई सस्तैमा रोक्ने क्रममा न्यु होराइजनका निरज घिमिरे र राहुल नाउले ३–३ तथा अनिश भट्टराई, सुप्रिम कँडेल र प्रिन्स पालले १–१ विकेट लिएका थिए । देवदह बुद्धका दिक्सन थापाले १६, आयुश पाण्डेले १५ र अध्ययन न्यौपानेले ११ रन बनाए पनि अन्य ब्याटर नचल्दा टिमले हार व्यहोर्यो ।
होराइजनका निरज घिमिरे म्यान अफ द फाइनल भई पाँच सय रुपैयाँ प्राप्त गरे ।प्रतियोगितामा न्यु होराइजनका प्रिन्स पाल म्यान अफ द सिरिज भई १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै, होराइजनकै राहुल नाउ बेष्ट ब्याटर र सुप्रिम कँडेल बेष्ट बलर भए । उनीहरुले जनही ५ हजार रुपैयाँ पाए । प्रतियोगितामा कुँवरवर्ती इङ्गलिस बोर्डिङ स्कूल अनुशासित टिम घोषित भइ पुरस्कृत भए ।
रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा सम्पन्न प्रतियोगिताका विजेता टिमलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा, संघका कार्यबाहक अध्यक्ष धिरज अधिकारी क्षेत्री, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, संघका पूर्वअध्यक्षहरु प्रशान्तविक्रम मल्ल र प्रेमकुमार सेन्चुरी, प्याब्सन केन्द्रिय उपाध्यक्ष विष्णु पन्थी, मुख्य प्रयोजकक विमल सेन्चुरी, रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल रामदाम, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीलगायतले विजेता र उपविजेता टिमलाई ट्रफी, नगद पुरस्कार। पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.