- भैरहवा
दुर्लभ वन्यजन्तुका अङ्ग, मासु र जीवित जन्तु ओसार पसारका ७ घटना ३ महिनामा रुपन्देहीमा घटेका छन् । ७ घटना मध्ये २ घटना रुपन्देही भित्रकै रहेका र अन्य ५ वटा जिल्लाबाहिरबाट आएर यहाँ खरिद बिक्री गर्ने क्रममा घटाइएको रुपन्देही प्रहरी प्रमुख तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक प्रवीण पोखरेलले बताए ।
जिल्लामा घटेका वन्यजन्तुको घटना मध्ये जंगली बदेलको मासु बरामद र निलगाईको उद्धार रहेको थियो । बदेल मार्न प्रतिवन्ध छ र पाल्न पनि पाइदैन । अहिले जति पनि बदेल घरघरमा पालिएको छ, कानून त त्यो वर्जित हो, प्रहरी उपरिक्षक पोखरेलले भने । त्यसै गरी रुपन्देहीकै दक्षिण क्षेत्रमा निलगाई मार्न लखेटीरहेको बखत उद्धार गरी वन कार्यालयमा पठाइएको थियो । निलगाई लोपोन्मुख प्रजातिको हो । निलगाई उद्धार मंसिर २६ गतेको घटना हो ।
त्यसै गरी रुपन्देहीमा भएका वन्यजन्तु सम्बन्धि अन्य घटनाहरुमा सालक जिउदो बरामद, सालकको खपटा २ पटक बरामद, चितुवाको छाला बरामद एक पटक , गैडा खाग बरामद र कस्तुरीको विणा बरामदका घटनाहरु रहेको पोखरेलले बताए । जीवित वन्यजन्तु र तिनिहरुको अङ्ग ओसार पसारका सबै घटना बुटवलमा भएका हुन् ।
बुटवललाई ट्रान्जिट बनाई ओसार पसार गरेको र त्यस्मा संलग्न सबै अन्य जिल्लाका रहेको पाइएको छ ।
जिउदो सालक बिक्री र त्यस्को खपटा तस्करमा संलग्नमा एक महिला सहित १० जना पक्राउ परी पुर्पक्षका लागि थुनामा छन् भने चितुवाको छालाको तस्करीमा २ जना, गैडाको खाग र कस्तुरीको विना तस्करीमा ३।३ जना संलग्न रहेको र तिनै जना पक्राउ परी कारवाहीको प्रकृयामा छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार गैरकानूनी तरिकाले गैंडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वाँसे चितुवा, हिउ चितुवा वा गौरी गाई मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा गैंडाको खाग वा कस्तुरीको वीना, हिउ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको अङ्गहरु राख्ने, खरिद गर्ने, बिक्रि गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने कानून रहेको प्रहरी उपरिक्षक पोखरेलको भनाई छ ।
वन्यजन्तुहरुको शरिरका विभिन्न भागका अंगहरु र मासु समेत लुकाई छिपाई अन्तर्राष्ट्रिय बजारमा अति महगो मूल्यमा बिक्री हुने गर्छ । त्यसैले वन्यजन्तुको जिउदै वा मारेर त्यसको अङ्गहरु तस्करी हुने गर्दछ ।
वन्यजन्तु ओसार पसार तथा वन्यजन्तुका अङ्ग तस्करी गर्नेहरुले अहिले रुपन्देही नाका प्रयोगमा ल्याएता पनि प्रहरीको कुशलताले घटनामा संलग्न भएका सबै वन्यजन्तु र अङ्ग सहित समातिएका छन्, तस्करहरुको जालो तोड्न हामी लागिपरेका छांै, वन्यजन्तु मात्र होईन अन्य कानुनले बर्जित गरेका कुराहरु नियन्त्रणमा हाम्रो ध्यान छ, प्रहरी उपरिक्षक पोखरेलको भनाई छ ।
Get real time update about this post categories directly on your device, subscribe now.
























