मनोरञ्जन शर्मा
भैरहवा – नेपाल भारतको सबैभन्दा ठुलो स्थलनाकाका रुपमा रहेको सिमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गर्ने बित्तिकै विदेशी तथा भारतीय पर्यटकले सास्ती ब्यहोर्नु परेको छ । बेलहिया स्थित अध्यागमन कार्यालयमा नेपाल प्रवेशका लागी प्रवेशाज्ञा लिने विदेशी नागरिक हुन या आफ्नै सवारी साधन लिएर नेपाल घुम्न आएका भारतीय पर्यटक हुन सबैले जिरो प्वाईटन्ट (सिमा नाका) बाटै सास्ती पाउदै आएका छन् । उनीहरू राज्यकै कारण सास्तीमा परेका हुन् । अध्यागमन कार्यालयमा दरबन्दी कम हुँदा सीमित कर्मचारीले दिने सेवामा घण्टौँ लाग्ने हुँदा विदेशी पर्यटकले अहिले भिसाका लागि ३।४ घन्टा लाग्ने गरेको छ । लामो समय घण्टौँ लाएर लाइन लाग्दा पनि सहज नभएको गुनासो पर्यटकको छ ।
केही समय अघि एकै दिन ८ सय पर्यटक नेपाल भित्रँदा उनीहरूको भिसा व्यवस्थापनका लागि ८ घन्टा सम्म लागेको थियो । अध्यागमनमा ढिलाई हुँदा पर्यटकलाई दुख आफ्नो ठाउमा छदैछ, पर्यटक लिन त्यहाँ पुगेका टुरगाइड, पर्यटक लिन आएका होटेल तथा ट्याक्सी व्यवसायी समेत घण्टौँ कुनै पर्दा अध्यागमन कार्यालय परिसरमा होहल्ला गर्दा त्यहाँको माहोल अझ कष्टपूर्ण देखिन थालेको छ । अध्यागमन कार्यालय बेलहियाका प्रमुख नारायण प्रसाद पाण्डे सेवा लिन आउने पर्यटकको तुलनामा कार्यालयमा उपलब्ध जनशक्ति कर्मचारी कमी रहेको र एकै पटक धेरैजना पर्यटक आइपुग्दा यस खालको समस्या पहिला देखिनै हुने गरेको बताए । हाम्रो कार्यालयमा जनशक्तिको कमी छ , एकै पटक धेरैजना पर्यटक आउँदा धेरै समयसम्म लाइनमा बस्नु पर्ने बाध्यता भएको हो’ पाण्डेले भने, । कार्यालयमा प्रमुख सहित पाच जनामात्र कर्मचारी छन् । एकजना कर्मचारीले दैनिक १४ घण्टासम्म सेवा दिनु परेको र चारवटा डेस्कबाट सेवा उपलब्ध गराइएको पाण्डेले भने । ‘थप तीनजना कर्मचारी उपलब्ध भएमा यो समस्या तत्काललाई समाधान हुने थियो’ पाण्डेले भने, ‘यसकालागि विभाग र मन्त्रालयसँग बारम्बार माग गर्दै आइएको छ । अध्यागमन कार्यालयले विभाग सँग बारम्बार कर्मचारी अभाव भएको बारे जानकारी गराउँदा पनि कुनै सुनवाई नहुँदा पर्यटकले सास्ती पाएका हुन् ।
काठमाण्डौ त्रिबी अन्तराष्ट्रिय विमानस्थल पछि सबैभन्दा बढी पर्यटक यही नाका हुँदै नेपाल भित्रने गर्दछन् । सन् २०२४ को नोभेम्बरसम्ममा यस नाकाबाट नेपाल भित्रने पर्यटकको संख्या (भारतिय बाहेक) ८३ हजार बढी छ । नेपाल प्रवेश गर्दा जुन उमंग पर्यटकमा हुनु पथ्र्यो त्यो उमंग पर्यटममा छैन, होटलमा पर्यटक छिर्दा निराश थकित एवं युद्ध हारेर आएका जस्ता देखिन्छन हाम्रा पर्यटकहरु, सिद्धार्थ होटल संघ नेपाल सानका अध्यक्ष एवं नान्स होटलका प्रबन्ध निर्देशक चन्द्र प्रकाश श्रेष्ठले भने । तत्कालका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको अध्यागमनका रहेका कर्मचारीहरु ल्याएर भए पनि त्यहाँ रहेको ढिलाई हटाईनु पर्छ, अहिले मौसमका कारण बिमानस्थलका अध्यागमन कर्मचारीहरु पनि फुर्सदिला छन, श्रेष्ठले भने ।अध्यागमनका ढिलाईले उनीहरूको भ्रमण तालिका परीबर्तन भैरहेको श्रेष्ठले बताए ।
‘सांझ ६ बजेकालागि खानाको अग्रिम अर्डर गरेका पर्यटक अध्यागमन कार्यालयमा हुने ढिलाइका कारण राती दश बजेतिर आएर भोकै सुत्ने गर्छन्’ अध्यागमन कार्यालयदेखि करिव डेढ किमीको दुरीमा रहेको होटल ल्याण्डमार्कका संचालक आशा गुरुगंले भने । आफ्नो होटलमा आउने पर्यटक भोकभोकै अध्यागमन कार्यालयमा घण्टौंसम्म लाइनमा उभिनु परेपछि चियानास्ता बोकेर लाइनमैं बितरण गर्ने गरेको गुरुंगको भनाई छ । सीमित कर्मचारीका कारण अध्यागमनमा ढिलाई हुँदा पर्यटकलाई नेपाल प्रबेशमा सास्ती भएको लुम्बिनीका पर्यटन व्यवसायी प्रबिण शाक्यले बताए । भारतीय अध्यागमनमा आधा घन्टामै काम हुन्छ हाम्रोमा ४।५ घन्टा लाग्छ, पर्यटकको गुनासो उनले सुनाए । शाक्यले थाई पर्यटक गु्रप धेरै हेन्डलिंग गर्छन । थाई पर्यटकले सिमानकामा धेरै सास्ती रहेको बताउदै आएका छन् । स्थलमार्ग हुँदै आउने धेरै पर्यटक बुद्धजन्मस्थल लुम्बिनी जाने गरेको शाक्यले बताए ।
भारतीय पर्यटकलाई पाइलै पिच्छे चेकिङ
स्थलमार्ग भैरहवा हुँदै सबैभन्दा बढी भारतीय पर्यटक यहीबाट आउने गर्छन् । यद्यपी स्थलमार्गबाट यती भारतीय पर्यटक नेपाल भित्रिए भन्ने कुलै अभिलेख हुदैन् । यो नाका हुदै आउने पर्यटकहरु भैरहवामा क्यासिनोमा रमाउन, साथै लुम्बिनी, पोखरा, मुक्तीनाथ लगायतका स्थानमा जान आउने गर्छन् । तर उनीहरू आफै लिएर आउने सवारी साधन भने बेलहिया नाका बाटै सुरक्षाका नाममा गरीने अनाबश्यक चेकजाचले गर्दा सास्ती पाएको पर्यटकहरुले बताएका छन् । नेपाल प्रवेश गर्ने बित्तिकै नाकामै सुरक्षा निकायले रोक्छन्, त्यसपछि भन्सारमा भन्सार पास र त्यही रहेको यातायात कार्यालयमा पटके पासका लागि रोकिन्छन भारतीय पर्यटक बाहन हरु ।
त्यहाबाट निस्कने बित्तिकै अलि अगाडी बेलहिया बाईपासमा प्रहरीले चेकिङ गर्दछ । त्यहाँ सबै कागजात देखाई सुरक्षा जाच गरे पछि अलि माथि डन्डा चेकपोष्टमा त्यस्तै किसीमको चेकजाच फेरी शशस्त्र प्रहरीले गर्छ । त्यही अघि कहिले काही आकस्मिक सुरक्षाचेकजाचका नाममा आखा अस्पताल र देबकोटा चोकमा भारतीय सवारी साधन रोकिने गरेका छन् । त्यसपछि अघिल्लो चेकिङ भैरहवाको अञ्चलपुरमा हुने गर्छ । यसरी हेर्दा अञ्चलपुर देखि बेलहिया सम्मको ५ किमि भन्दा कमको दुरीमा ५ पटक भन्दा बढी सुरक्षा चेक जाच हुने गरेको छ । एक ठाउमा सुरक्षा चेकजाच पछि बारम्बार चेक गरी पर्यटकलाई हेरेसमेन्ट र सास्ती दिने काम भैरहेको नेपाल भारत मैत्री केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवाल बताउछन् । भारतीय पर्यटकहरु नेपालमा भ्रमणका लागी अधिक आउछन, तर उनिहरुलाई बिभिन्न बहानामा दुख दिने काम भैरहेकोछ, उनीहरूको भ्रमण सहज हुन पर्छ, अग्रवालले भने, पाइलै पिच्छे चेकिंगले एक पटक नेपाल आएका भारतीय पर्यटक पुनह नेपाल आउन खोज्दैनन, उनले भने ।
Get real time update about this post categories directly on your device, subscribe now.