- मनोरञ्जन शर्मा
भैरहवा ।
लिस्नु युवा क्लब, रुपन्देहीको कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार कोटीहवा स्थित पशुपति माविको खेलमैदानमा सम्पन्न अन्तिम प्रिक्वाटर फाइनल खेलमा आयोजक समेत रहेको लिस्नुले पाहुना टिम पाल्पा ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको हो । एक नाइजेरीयन खेलाडी सहित मैदान ओर्लिको आयोजक लिस्नुले खेलको पहिलो हाफ गोल रहित खेल खेल्यो । ०–० गोलको अवस्था रहेको उत्तराद्र्धको ४४ मिनेटमा लिस्नुका राजेन्द्र रावलले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । ५५ मिनेटमा विदेशी खेलाडी फोडे फुफानाले गोल थप्दै अग्रता २–० बनाए ।
६५ मिनेटमा पाल्पा एघारका खेलाडीलाई डि एरिया भित्र लिस्नुका रक्षकले लडाए पछि पाल्याले पेनाल्टी हान्ने अवसर पाएकोमा जनोम लिगलले गोल गर्दै गोल अन्तरलाई २–१ बनाए । १ गोल फर्काएपछि जोशिएको पाल्पा ६८ मिनेटमा कप्तान कुशल भण्डारीले रातो कार्ड पाएर बाहिरीएपछि दवाबमा पर्न पुग्यो टिम । गोल गर्ने अबसर पाए पनि सदुपयोग हुन सकेन् । अन्तत आयोजक लिस्नु २–१ गोलले जित निकाल्र्दै क्वाटर फाइनल प्रवेश गर्याे । लिस्नुका हिमाल थापाले उत्कृष्ट खेल प्रदर्शन गरे वापत म्यान अफ म्याच घोषित हुँदै ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
लिस्नुले क्वाटर फाइनलमा अब अञ्चलपुर युवा क्लब भैरहवासंग प्रतिष्पर्धा गर्नेछ । प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ टिमको सहभागिता रहेको छ भने बिजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै गरी सेमिफाइनलमा पराजित हुने २ टिमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्बाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तिर्थ राज मल्लले बताए ।
प्रतियोगितामा यस पटक सोहि स्थानकी श्रीमाया गुरुङ्गले आफ्ना बुवा स्व. डिम बहादुर गुरुङ्गको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ ।
प्रतियोगिता अन्तरगत आइतवारको पहिलो क्वाटर फाइनल खेल साविक बिजेता फर्साटिकर फुटबल क्लब र गोर्खा ब्वाइज क्लब बुटवल बिच हुने आयोजक लिस्नु युवा क्लवका सचिव मनोज क्षेत्रीले जानकारी दिए ।
Get real time update about this post categories directly on your device, subscribe now.