श्रीन्यूज ओके रिपोर्टर
भैरहवा (१५ भदौं)
लिस्नु कप फुटबल प्रतियोगिताको २१ औं सस्करण भदौ २३ गतेबाट सञ्चालन हुनेछ । आयोजक लिस्नु युवा क्लबले शुक्रवार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताबारे जानकारी गराएको हो । लिस्नुकप फुटवल रुपन्देहीको पुरानो एवं प्रतिष्ठित प्रतियोगिता मध्येको एक हो । प्रतियोगीतामा विजेताले ३ लाख ५ हजार रुपैयाँ नगद पुरस्कार सहित लिस्नु कप प्राप्त गर्नेछन् भने उपबिजेता टिमले उपबिजयी ट्रफीसहित १ लाख ५५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा सेमी फाइनलमा पराजित हुने २ टिमले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका मोष्ट भ्यालुएबल खेलाडीलाई २५ हजार, रुपैयाँ बेस्ट गोलकिपर, राईजिङ प्लेयर, हाईस्कोरर लाई जनही १० हजार रुपैयाँका दरले तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई ३ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक समेत नेम बहादुर गुरुङ्गले बताए ।
प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु र पाल्पाका गरी १२ टिमको सहभागिता रहेको छ । कोटीहवाको पशुपति उच्च माबिको मैदानमा हुने प्रतियोगितामा साबिक बिजेता समेत रहेको आयोजक लिस्नु युवा क्लब, नवयुवा साँस्कृतिक तथा खेलकुद परिवार ओमसतिया, सञ्जिवनी युवा क्लब तिलोत्तमा नगर, झरना स्पोर्टस् क्लब कुञ्जलापुर तिलोत्तमा, फर्साटिकर फुटबल क्लब, शुद्धोधन गाउँपालिका, आहाना फुटबल क्लब बुटवल, प्रहरी तालिम केन्द्र बुटवल, देवदह ब्वाईज देवदह, पाल्पा ११ तानसेन, कपिलवस्तु ११ कपिलवस्तु र वालिङ्ग युनाईटेड स्याङ्गजा को सहभागिता छ ।
प्रतियोगिता तिलोत्तमाको पर्वकैरुपमा रहेको र स्थानीयहरुको सहयोग र सहभागिताका कारण २१ औं सस्करणमा आइपुगेको लिस्नु युवा क्लबका अध्यक्ष तिर्थ राज मल्लले बताए । २३ भदौमा सुरु भएर ५ असोजमा सम्पन्न हुने प्रतियोगिता कोटीहवा स्थित पशुपति उच्च माविको मैदानमा हुनेछ ।
प्रतियोगिता सञ्चालनका लागि कुल १९ लाख ९५ हजार रुपैयाँ खर्च हुने क्लबका कोषाध्यक्ष प्रकाश पाण्डे क्षेत्रीले बताए । प्रतियोगितामा यस पटक मुख्य प्रायोजकका रुपमा विजय गुरुङ्ग रहेका छन् । गुरुङ्गले आफ्नो स्वर्गिय बुवा जमान सिंह गुरुङ्गको स्मृतिमा बिजेता पुरस्कार ३ लाख रुपैयाँ उपलब्ध गराएका छन् । स्वं गुरुङ्गको श्रीमती श्रीकुमारी गुरुङ्ग, छोरा विजय गुरुङ्ग, बुहारी नर्मदा गुरुङ्ग, छोरी द्धय टिकमाया पुन र तनुजा गुरुङ्गले लिस्नुकपको यस वर्षको खेललाई सहयोग गरेका छन् ।
प्रतियोगिताको लागि अन्य रकमको व्यवस्थापन टिकट बिक्री एवम् सहप्रायोजकहरु एवं स्थानीय संघसस्थाको सहयोगको अपेक्षा राखिएको क्लबले जनाएको छ । प्रतियोगितको क्वार्टर फाइनलसम्मका खेलका लागि जनही १ सय रुपैयाँ, सेमी फाईनल तथा फाईनल खेलका लागि २ सय रुपैयाँ प्रवेश टिकट रहेको छ । २०५७ सालमा स्थापित लिस्नु क्लबले स्थापना कालदेखिनै लिस्नु कप फुटबल आयोजना गर्दै आइरहेको छ भने अन्य बिभिन्न रचनात्मक एवं सामाजिक क्षेत्रमा समेत कार्य गर्दै आईरहेकोे क्लबका सचिव मनोज कुमार क्षेत्रीले बताए ।
क्लबका निर्वतमान अध्यक्ष एवम तिलोत्तमा वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अखिल नेपाल फूटबल संघका केन्द्रीय उपाध्यक्ष दिर्घ बहादुर केसी, रुपन्देही फुटबल संघका अध्यक्ष लोक बहादुर पुनले लिस्नु कप जिल्लाकै प्रतिष्ति फुटबल प्रतियोगिता रहेको र यस्ले फुटवलका प्रतिभाहरु जन्माउन र जिल्लामा फुटवलको बिकाशका लागि सक्रिय भूमिका खेलेको बताएका थिए । क्लबका सचिव मनोज कुमार क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत एव क्लब र प्रतियोगिताको बारे जानकारी क्लबका उपाध्यक्ष कृष्ण गुरुङ्गले गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.